नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
म्याग्दी | असोज ७, २०८१
म्याग्दी: नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।
नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।
मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताउनुभयो ।
“दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा जङ्गलको लोक्ता जम्मा गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।”
यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनःसञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो ।
उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ ।
पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ । माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताउनुभयो । कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उहाँले बताउनुभयो ।
जङ्गलमा गाईवस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् ।
बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताउनुभयो ।
“एकजनाबाट अधिकतम रु ३० हजारसम्मको लोक्ता खरिद भएको छ”, उहाँले भन्नुभयो, “एक जनाले सरदर रु १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।”
समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ ।
सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकतानुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ ।
नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ । अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् ।
समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ ।
म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ ।
सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

